काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।
बुधबारको बैठकमा बोल्दै साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीसँग जवाफ माग्दै आएको उल्लेख गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए। जवाफमा सभामुख अर्यालले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको बताएका थिए।
साम्पाङले प्रधानमन्त्री अनिवार्य रूपमा संसद्मा उपस्थित हुनुपर्ने, अन्यथा आफूलाई बैठकबाट निष्कासन गर्नुपर्ने मागसमेत राखे। उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा मन्त्रीले संसद्मा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधानको पालना नभएको आरोप लगाए।
प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही नदेखिएको भन्दै साम्पाङले आफूलाई नै बैठकबाट निकाल्न सभामुखसँग आग्रह गरेका थिए। केहीबेर सभामुखसँग सवाल–जवाफ गरेपछि उनी बैठक कक्षबाट बाहिरिएका हुन्।




















