काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्। सरकारले समारोहलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक अनुरोध गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
हरेक वर्ष जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित गणतन्त्र दिवस मनाइँदै आएको छ। विगतमा उक्त समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको भए पनि यस पटक भने राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए। यस वर्ष समारोहमा उनी सहभागी हुने वा नहुने विषय भने अझै स्पष्ट भइसकेको छैन।
प्रधानमन्त्री शाहले पछिल्लो समय संसद्मा समेत बोलेका छैनन् । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रधानमन्त्रीले धन्यवाद दिने संसदीय परम्परा रहे पनि शाहले यस पटक धन्यवाद प्रस्ताव बिना सम्बोधन सभामुखसमक्ष पेश गरेका थिए।
त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि प्रधानमन्त्री स्वयंले नदिई अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत गराइएको थियो। संसद्को नियमित प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री शाह सहभागी भएका छैनन्। संसद् चलेको बेला हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था भए पनि हालसम्म त्यस्तो कार्यक्रम सञ्चालन गरिएको छैन ।




















