काभ्रेपलाञ्चोक । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक हायसमा काँक्रोभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा प्रहरीले बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान क्षेत्रमा सवारी जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार बा ४ ख ५५०० नम्बरको हायसमा सवार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार श्रेष्ठले बोकेको रातो झोलाभित्र रहेका काँक्रोमा प्वाल बनाएर भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुई पोका लुकाइएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक परीक्षणका क्रममा उक्त पदार्थ खैरो हेरोइन जस्तो देखिएको र प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय लागुऔषध तस्करीमा नयाँ शैली अपनाउँदै दैनिक उपभोग्य वस्तुभित्र लुकाएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको जनाएको छ।
घटनापछि पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। आइतबार सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।




















