काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिए ।
बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम यथावत् कायम रहने निर्णयसमेत गरेको जनाएको छ । बैठकमा वर्तमान सरकारले स्वेच्छाचारी ढंगले काम गरिरहेको, अध्यादेशमार्फत कुशासन चलाउन खोजिएको तथा संसदीय मान्यता र अभ्यासको उल्लंघन हुने गतिविधि बढेको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
एमालेले लोकतान्त्रिक पद्धति, संसदीय मूल्य–मान्यता र संवैधानिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट गरेको छ । यस्तै एमालेले एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ । उक्त कार्यदललाई १ महिनाको समय दिइएको जनाइएकाे छ ।
समीक्षा कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इन्चार्ज सदस्य छन् ।




















