काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गर्न समिति गठन गरेको छ ।
नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा गठन गरिएको समितिले विवादित क्षेत्रको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, नापी विभागका एक निर्देशकलाई समितिको सदस्य–सचिव तोकिएको छ । सीमा विवादबारे सघन छलफलपछि समिति गठन गरिएको सचिवालयले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा सीमा विवादका कारण केही दिनअघि कुटपिटको घटना भएको थियो । खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका स्थानीयबीच रानीसैन क्षेत्रको सीमालाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।




















