काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूबीच आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको छ ।
छलफलमा कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल तथा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागी भएका थिए ।
एमाले प्रमुख सचेतक महरका अनुसार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संसदको उपेक्षा गरिएको, गैरसंवैधानिक गतिविधि बढेको तथा संसदमा विपक्षी दलले उठाएका विषयलाई दबाएर अघि बढ्ने सरकारको प्रवृत्तिबारे गम्भीर छलफल भएको थियो ।
छलफलमा सरकारमाथि संसदीय मूल्य–मान्यता विपरीत व्यवहार गरेको आरोप लगाउँदै सभामुखको भूमिकामाथिसमेत प्रश्न उठाइएको बताइएको छ । विपक्षी दलहरूले संसदमा आवाज उठाउँदा त्यसलाई पेलेर अघि बढ्ने सरकारको शैली गैरलोकतान्त्रिक भएको निष्कर्ष बैठकले निकालेको जनाइएको छ ।
बैठकपछि प्रमुख सचेतक महरले संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतन्त्रको संरक्षणका लागि विपक्षी दलहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको जानकारी दिए ।




















