काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
पार्टीभित्र एकता कायम गर्न, नेविसंघको १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई सक्रिय र चलायमान बनाउन दबाब दिने उद्देश्यले उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
धर्नाका क्रममा कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षबाहिर प्लेकार्ड टाँसेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनमा ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ र ‘युवालाई अवसर देऊ, पार्टीलाई ऊर्जा देऊ’ जस्ता नारासहितका सन्देश राखिएका थिए ।
धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेस भित्रको आन्तरिक एकता बलियो हुनुपर्ने र त्यसको सुरुआत विद्यार्थी संगठनबाटै हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनीहरूले गुट–उपगुटको राजनीतिभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले सक्रिय पहल गर्नुपर्ने बताएका छन् ।
लामो समयदेखि नेविसंघ निष्क्रियजस्तै बनेको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवापुस्तालाई निर्णायक भूमिकामा अघि ल्याउन नेतृत्वसँग माग गरेका छन् ।




















