काठमाडौं । संयुक्त अधिराज्य बेलायतका ‘इन्डोप्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको नयाँ सरकारसँग शिक्षा, प्राविधिक तालिम र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न बेलायत तयार रहेको बताएकी छन् ।
तीनदिने नेपाल भ्रमणमा रहेकी मन्त्री मल्होत्राले आइतबार नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज द्वारा आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफल कार्यक्रममा बोल्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन शिक्षा प्रमुख आधार बन्ने उल्लेख गरिन् ।
उनले शिक्षामा पहुँच विस्तार, रोजगारी सिर्जना र अर्थतन्त्रसँग शिक्षाको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै बेलायतले मानवीय पुँजी विकासमा लगानी गर्न इच्छुक रहेको धारणा राखिन् ।
“शिक्षामार्फत युवालाई अवसर सिर्जना गर्ने विषयमा हामी गम्भीर छौँ,” उनले भनिन्, “नेपालमा बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले दुई देशबीचको शैक्षिक सम्बन्ध झल्काइरहेका छन् । नेपालको नयाँ सरकारका प्राथमिकताअनुसार अन्य शैक्षिक क्षेत्रमा पनि सहकार्य विस्तार गर्न हामी तयार छौँ ।”

भ्रमणका क्रममा मन्त्री मल्होत्राले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायसँग भेटवार्ता गरेकी थिइन्।
नेपालका लागि बेलायतका राजदूत रब फेनले दिगो लगानी तथा बहुक्षेत्रीय सहकार्यका विषयमा छलफल भएको जानकारी दिए । उनले बेलायत सरकारले दीर्घकालीन साझेदारीको सोचअनुसार आधिकारिक विकास सहायता (ओडीए) मार्फत नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समावेशिता, प्राविधिक शिक्षा र सुशासनका क्षेत्रमा नेपालले वैदेशिक सहकार्य खोजिरहेको बताए ।
त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, गुणस्तर मापन प्रणाली विकास तथा अनुसन्धानमुखी उच्च शिक्षामा बेलायतको सहयोग आवश्यक रहेको धारणा राखे ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका महासचिव डा उद्धव खड्काले गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि २३ हजार नेपाली विद्यार्थी बेलायत गएको जानकारी दिए ।
छलफल कार्यक्रममा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका प्रबन्ध निर्देशक आभा शाह, जेम्स कलेजका प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल–बेलायत शैक्षिक सहकार्य थप प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेका थिए ।




















