काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्व सांसद एवं राजनीतिक विश्लेषक दयालबहादुर शाहीले राजनीति संख्या र क्षणिक लोकप्रियताभन्दा निष्ठा, धैर्य र निरन्तरताले टिक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेकपा एमालेभित्रको नेतृत्व परिवर्तनको वहस र वर्तमान राजनीतिक अवस्थालाई भारतको राजनीतिक इतिहाससँग तुलना गरेका हुन् ।
आजको केपी शर्मा ओली नेतृत्वको एमालेलाई भन्दा कुनै बेला अटल विहारी बाजपेयी नेतृत्वको भाजपालाई गाह्रो थियो र स्थिति नाजुक थियो भन्दै शाहीले सन् १९८४ को भारतीय लोकसभा निर्वाचनमा अटल बिहारी वाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले केवल दुई सिट जित्दा पनि पार्टीभित्र नेतृत्व परिवर्तनको माग नउठेको उल्लेख गरेका छन् । उनका अनुसार त्यसबेला इन्दिरा गान्धी को हत्यापछि उत्पन्न भावनात्मक लहरका कारण राजीव गान्धी नेतृत्वको कांग्रेसप्रति व्यापक जनसमर्थन गएको थियो ।
शाहीले जनमत कहिलेकाहीँ निर्मम हुने भन्दै कठिन परिस्थितिमा पनि वाजपेयीले निष्ठाको राजनीति नछोडेको उल्लेख गरेका छन् । उनले भाजपा नेतृत्वले धैर्यपूर्वक जनताको विश्वास जित्ने प्रयास जारी राखेकै कारण पछि सफल भएको तर्क गरेका छन् ।
उनले राजीव गान्धी नेतृत्वको कांग्रेसले दुईतिहाइ बहुमत पाए पनि विभिन्न घोटाला र विवादका कारण त्यो जनसमर्थन टिकाउन नसकेको उल्लेख गरेका छन् । सन् १९८९ मा कांग्रेस बहुमत गुमाएको र त्यसपछि सन् १९९६ मा भाजपा लोकसभाको सबैभन्दा ठूलो दल बनेको उदाहरण दिँदै शाहीले “निष्ठाको राजनीति दीगो हुने र हुलहालको राजनीति क्षणिक हुने” टिप्पणी गरेका छन् ।
शाहीले वर्तमान नेपाली राजनीतिसँग तुलना गर्दै नेकपा एमालेले पनि निष्ठा र सिद्धान्तको राजनीति गरिरहेको दाबी गरेका छन् । उनले “केपी ओली प्रेरित एमालेले निष्ठाको राजनीति गर्छ, चलाकी र हुलहालको होइन” भन्दै पार्टी नेतृत्वप्रति आफ्नो विश्वास व्यक्त गरेका छन् ।




















