काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । रास्वपाले निर्वाचनमा बहुमत प्राप्त गरी बालेन्द्र शाह नेतृत्वको सरकार गठन गरेपछि नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणहरू हुन सकेका छैनन् । यसअघि भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण पनि स्थगित भएको थियो ।
परराष्ट्रमन्त्री खनाल आउँदो जेठ १८ गते नयाँ दिल्लीमा आयोजना हुने ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा थिए । तर सम्मेलन स्थगित भएपछि उनको भ्रमण पनि रोकिएको हो ।
रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुईदिने भ्रमणका लागि निमन्त्रणा दिएको छ । उनी जेठ १८ गते आसपास भारत जाने तयारीमा रहेका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध चिसिएको चर्चा भइरहेका बेला लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतले यसअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि भ्रमणको निम्तो दिएको भए पनि हालसम्म भ्रमणको मिति तय हुन सकेको छैन ।
नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउने परम्परा कायम राख्न भारत इच्छुक देखिए पनि प्रधानमन्त्री शाह भने आवश्यकताअनुसार जुनसुकै देशको भ्रमण गर्न सकिने धारणा राख्दै आएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणको वातावरण बनाउन भारतीय विदेश सचिवलाई नेपाल पठाउने तयारी गरिएको भए पनि प्रधानमन्त्रीसँग भेटको सुनिश्चितता नभएपछि भ्रमण रद्द भएको चर्चा पनि कूटनीतिक वृत्तमा भइरहेको छ । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारीलाई अत्यावश्यक अवस्थामा बाहेक भेट नगर्ने प्रोटोकल अपनाएको बताइएको छ ।




















