काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।
शनिवार विराटनगरको कोईराला निवासमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा राखेर चलाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् । उनले विगतमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको उदाहरण रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताए ।
थापाले २०६४ सालमा माओवादीको बहुमत रहेको समय र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारका बेला पनि संवैधानिक निकायहरुमाथी प्रभाव जमाउने प्रयास भएको बताए । तर नेपालको न्यायपालिका, सञ्चार माध्यम र अन्य लोकतान्त्रिक संस्थाहरूले त्यस्ता प्रयासलाई पटक–पटक असफल बनाएको उनको भनाइ छ । उनले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास गर्दा कहिले न्यायपालिकाले, कहिले व्यवस्थापिकाले र कहिले सञ्चार माध्यमले नियन्त्रण गरेको उल्लेख गरे । वर्तमान सरकारले संसद र न्यायपालिकालाई आफ्नो प्रभावमा राख्न खोजेको दाबी गर्दै थापाले लोकतान्त्रिक संस्थाहरू अझै पनि यस्ता प्रयास रोक्न सक्षम रहेको विश्वास व्यक्त गरे ।
उनले सरकाले व्यवस्थापिकालाई सरकारले आफ्नो छायाँमा ल्याएको आरोप लगाए ।



















