काठमाडौं । दुर्गा प्रसाईंमाथि दोस्रो पटक थपिएको म्यादभित्रै अनुसन्धान प्रक्रिया पूरा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार प्रसाईंविरुद्ध थप चार दिनको म्याद लिएको थियो । दोस्रो पटक थप गरिएको उक्त म्याद सोमबार सकिने पर्सा प्रहरीका सूचना अधिकारीले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले तोकिएको अवधिभित्र अनुसन्धान सकेर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको छ । यदि उक्त अवधिमा निर्णय हुन नसकेमा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिइएको छ ।
प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो । उनी हाल पर्सा प्रहरीको हिरासतमा छन् ।




















