काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बिहीबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यसपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने माग गर्दै उठेर विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ (१) अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै जेठ ७ गतेसम्म पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको बताएका थिए।
उनीहरूले प्रधानमन्त्री शाह संसद्मा नआउँदासम्म विरोध जारी रहने चेतावनी दिएका छन्।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका थिए।
विरोध जारी रहेपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।




















