काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले संसद्को मर्यादा जोगाउन नसकेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनप्रति नै “एलर्जी” हुन थालेको टिप्पणी गर्दै सांसद राईले सरकार परम्परा तोड्ने नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप लगाए।
उनले सत्तारुढ दलका सांसदहरू नियम मिच्ने गतिविधिमा संलग्न रहेको भन्दै संसदीय अभ्यासलाई कमजोर बनाइएको बताए।
उनले भने, “सरकार परम्परा भत्काउँदै छु भन्दै छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। सत्तारुढ दलका सांसद क्रमभंगतालाई रफ्फु लगाउँदै हिँडेका छन्। संसदीय व्यवस्था र अभ्यासलाई अहंकारको दम्भले तललकारिँदै छ। अनि सदन कसरी मर्यादित हुन्छ ?”
राईले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले साथ नदिएको आरोप पनि लगाए। नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ नपाएको भन्दै उनले असन्तुष्टि जनाए।
श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दा सभामुख डोलप्रसाद अर्यालले त्यसलाई अमर्यादित गतिविधि भनेकोप्रति पनि उनले प्रश्न उठाए।
उनले विगतमा हाल सत्तामा रहेका दलहरूले पनि प्रतिपक्षमा हुँदा बेल घेर्ने, निलो स्कार्फ लगाउने र पुस्तक पढेर विरोध जनाउने अभ्यास गरेको स्मरण गराउँदै अहिले प्रतिपक्षले प्रश्न उठाउँदा मात्र अमर्यादित भन्न नमिल्ने बताए।
राईले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको विरोध र अहिले श्रम संस्कृति पार्टीले गरिरहेको प्रदर्शन दुवैलाई अमर्यादित गतिविधिको रूपमा व्याख्या गरे। साथै, सदनको मर्यादा कायम राख्न सभामुखको भूमिका प्रभावकारी हुन नसकेको टिप्पणीसमेत गरेका छन् ।




















