काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय माग गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले पार्टी अध्यक्ष राईलाई बोल्ने समय दिएपछि उनले प्रधानमन्त्री र मन्त्रीहरू नियमित रूपमा संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका हुन् ।
राईले प्रधानमन्त्री बालेन्द्र शाहले गृह तथा रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेको अवस्थामा सीमा सुरक्षा, लिपुलेकलगायत राष्ट्रिय विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताए । उनले आफूले वैशाख २८ र २९ गते उठाएका प्रश्नको हालसम्म जवाफ नआएको गुनासो गरे ।
उनका अनुसार संसद् नियमावलीमा सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि करिब १० दिन बितिसक्दा समेत प्रतिक्रिया नआएको भन्दै उनले प्रश्न गरे, “उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ?”
सदनमा बुधबारजस्तै बिहीबार पनि श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको जवाफदेहिताको माग गरेका थिए ।
यसक्रममा राईले प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने टिप्पणीसमेत गरे । उनले भने, “यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।”
राईले लोकतन्त्र र संसदको गरिमा जोगाउन सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सांसदहरूले उठाएका विषयमा समयमै उत्तर दिनुपर्ने माग दोहोर्याए ।




















