काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् ।
बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका हुन् ।
उनले प्रतिपक्षमा रहेर आगामी पाँचै वर्ष विरोध गरिरहने पनि बताएका छन् ।
सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद् र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे ।




















