काठमाडौं । नेकपा एमालेले विस्थापित सुकुमबासीबारे सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको निर्णयलाई “अमानवीय” भन्दै आलोचना गरेका हुन्।
बरालले सरकारले बिना तयारी सुकुमबासीहरूलाई बसोबास गरिरहेको स्थानबाट हटाएको आरोप लगाए। सरकारले तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने र त्यसपछि एकमुष्ट २५ हजार रुपैयाँ दिने निर्णय व्यवहारिक नभएको उनको भनाइ थियो।
“एक दिनको करिब १०० रुपैयाँले काठमाडौं आसपासमा एउटा परिवार कसरी बाँच्न सक्छ ?” भन्दै उनले यो निर्णय सुकुमबासीमाथिको ठूलो अमानवीय हमला भएको टिप्पणी गरे।
उनले सुकुमबासीहरू बसिरहेको स्थान नै अस्थायी प्रकृतिको भएकाले २५ हजार रुपैयाँ दिएर समस्या समाधान नहुने बताए। बरालका अनुसार सरकारले स्थायी व्यवस्थापनको योजना ल्याउनुको सट्टा जबर्जस्ती हटाउने काम गरेको छ।
होल्डिङ सेन्टरमा विस्थापितहरू अमानवीय अवस्थामा बस्न बाध्य भएको दाबी गर्दै उनले सुत्केरी महिला कुपोषणको जोखिममा रहेको, युवाहरू मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको तथा बालबालिका विद्यालय जानबाट वञ्चित भएको बताए। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरू समेत समस्यामा परेको उनको भनाइ थियो।




















