काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा पुनः प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका छन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को मर्यादा कायम राख्न आग्रह गर्दै सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्।
बैठक सुरु हुनासाथ हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड देखाउँदै विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले साम्पाङलाई दुई मिनेट समय दिँदै आफ्ना धारणा राख्न अनुमति दिएका थिए।
संसद्मा बोल्दै साम्पाङले सरकारले सहकारी पीडितलाई फिर्ता दिन खोजिएको रकमको स्रोतबारे प्रश्न उठाए। सरकारले अपारदर्शी ढंगले रकम फिर्ता गर्न खोजेको आरोप लगाउँदै उनले स्पष्ट जवाफ माग गरे।
उनले सुकुम्बासी समस्या समाधानको योजना के हो भन्ने विषयमा पनि सरकारसँग प्रश्न गरेका थिए। साथै, बारम्बार प्रश्न उठाउँदा पनि प्रधानमन्त्री र मन्त्रीहरू संसद् बैठकमा उपस्थित नभएको भन्दै असन्तुष्टि जनाए।
“जनताको प्रश्न उठाउने थलो संसद् हो। सरकार संसद्प्रति जिम्मेवार हुनुपर्छ,” भन्दै साम्पाङले सरकारले सदनप्रति जवाफदेही नदेखाएको आरोप लगाए।




















