काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल बिदामा बसेको जानकारी दिएका हुन्।
यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट रहेको बताइएको छ।
डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए। शपथ ग्रहण समारोहमा भने न्यायाधीश मल्ल सहभागी नभएकी बताइएको छ।




















