काठमाडौँ । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किन सक्ने संकेत गर्दै राष्ट्रिय सभाको बैठकमा कालो पोशाक लगाएर सांकेतिक विरोध जनाएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै त्यसैको संकेतस्वरूप आफू कालो पोशाकमा उपस्थित भएको बताए ।
उनले भने, ‘मैले यो ड्रेस आज लगाएँ किन ? किनकि राजा ज्ञानेन्द्रले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो । आज यो लगाएर आएपछि उहाँलाई त्यो याद आउँछ कि, भेट्नुहुन्छ कि भनेर कालो ड्रेस लगाएर आएको हुँ ।’
ठाकुरले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे । उनले ‘पराधीन सपनामा पनि सुख हुँदैन’ भन्ने उखान उद्धृत गर्दै नागरिकहरू मानसिक रूपमा समेत पीडित भएको टिप्पणी गरे ।
‘पराधीन जो हुन्छ, उसलाई सपनामा पनि सुख हुँदैन । जागृत अवस्थामा झन् कस्तो होला ? हामी यही समाजमा छौँ, सपनामा पनि पीडित भइरहेका छौँ,’ उनले भने ।
आफ्नो पहिचानबारे बोल्दै ठाकुरले आफू मधेसी र नेपाली दुवै भएको उल्लेख गरे । उनले देशभित्र र बाहिर भइरहेका गतिविधिबारे आफू जानकार रहेको दाबीसमेत गरेका छन् ।




















