धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीस्थित गोदावरी नगर कार्यसमितिले सामूहिक रूपमा राजीनामा दिएको छ ।
गोदावरी नगर समितिका पदाधिकारी तथा सदस्यहरूले मंगलबार बैठक बसेर सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।
नगर सभापति दिपक ओझाले कुनै दबाब वा प्रभावका कारण नभई नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिएको बताएका छन् ।
उनका अनुसार कार्यसमितिले पार्टीको सिद्धान्त तथा गोदावरी नगरको अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकिएको निष्कर्ष निकाल्दै नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न राजीनामाको निर्णय गरेको हो ।
कार्यसमितिले बैठकको माइन्युटमै पार्टीको सिद्धान्तअनुसार कार्यसम्पादन गर्न नसकिएको उल्लेख गर्दै नयाँ नेतृत्वका लागि बाटो खुला गर्न सामूहिक रूपमा पदत्याग गरिएको जनाएको छ ।




















