काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल जान नपाएका युवाले मंगलबार काठमाडौँको माइतीघर मण्डला मा प्रदर्शन गरेका छन् ।
इजरायल जान आवश्यक योग्यता पूरा गरे पनि गोलाप्रथामार्फत छनोटमा नपरेका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूले दुई वर्षसम्म पर्खिँदा पनि अवसर नपाएको गुनासो गरेका छन् । उनीहरूले आगामी दिनमा इजरायल पठाउँदा पुराना आवेदकका लागि छुट्टै कोटाको व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले सरकार तथा सम्बन्धित निकायको गैरजिम्मेवारपूर्ण कार्यशैलीका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।
प्रदर्शनकारीले आफ्नो माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।



















