काठमाडौँ । नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सरकारले काठमाडौँबाट गरिबलाई विस्थापित गर्ने नीति लिएको आरोप लगाएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गरिबलाई हटाउने होइन, गरिबी अन्त्य गर्ने नीति सरकारको प्राथमिकतामा हुनुपर्ने बताइन् ।
‘काठमाडौँबाट गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ । डोजर आतंकले सुकुम्बासी पीडित छन्, त्यसप्रति सरकारको ध्यान जाओस्,’ उनले भनिन् ।
सांसद बिकले राज्य व्यवस्था समितिको टोलीसँगै सोमबार काभ्रेको बनेपास्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्दा त्यहाँको अवस्था अत्यन्त दयनीय पाइएको उल्लेख गरिन् ।
उनका अनुसार होल्डिङ सेन्टरमा नर्सरीदेखि ब्याचलरसम्म अध्ययनरत २७ जना विद्यार्थीको पढाइ प्रभावित भएको छ । बिरामी, सुत्केरी तथा बालबालिकासमेत कैदीसरह अवस्थामा बस्न बाध्य भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।
‘बालबालिका कुपोषणको शिकार भएका छन्, बिरामीले औषधि पाएका छैनन् । रोजगारी गुमाउँदा युवा मिलन तामाङको मानसिक सन्तुलनसमेत बिग्रिएको छ, उनको उपचारको व्यवस्था होस्,’ उनले भनिन् ।
सांसद बिकले गरिब हुनु अपराध नभएको उल्लेख गर्दै वर्तमान सरकारले गरिब तथा सुकुम्बासीमाथि अपराधीसरह व्यवहार गरिरहेको आरोप लगाइन् ।
‘सुकुम्बासी हुन कसैको रहर हुँदैन । देश समृद्ध बनाउने हो भने सबैभन्दा पहिले गरिबी अन्त्य गर्नुपर्छ,’ उनले बताइन् ।



















