काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गर्दै आयोगको गतिविधिमाथि निगरानी राख्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद साहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि उच्चस्तरीय र पारदर्शी छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै पूर्वगृहमन्त्रीलाई जोगाउने उद्देश्यले गतिविधि भइरहेको आशंका सार्वजनिक गरे ।
“संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउन आयोग नै सक्रिय रहेको जनस्तरमा चर्चा छ,” सांसद साहले भने, “कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन । आयोगले दबाब वा प्रभावमा परेर कसैलाई उन्मुक्ति दिने काम गर्नु हुँदैन ।”
सांसद साहले आयोगको कामकारबाही पारदर्शी बनाउन र त्यसको गतिविधिमाथि प्रभावकारी निगरानी गर्न सरकारसँग माग गरेका छन् ।




















