काठमाडौं । सुन्धारा कारागारबाट फरार भएकी जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङलाई काठमाडौंको असन क्षेत्रबाट पक्राउ गरिएको हो ।
चोरी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएकी तामाङ शुक्रबार राति करिब १ बजे सुन्धारा कारागारबाट फरार भएकी थिइन् । कारागार प्रशासनका अनुसार उनले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
तामाङ यसअघि पनि जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकी थिइन् । त्यसबेला उनी करिब दुई महिनापछि पक्राउ परेकी थिइन् । पछिल्लो पटक भने कारागारबाट भागेको तीन दिनमै प्रहरीको नियन्त्रणमा आएकी हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















