काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधानमन्त्री वालेन शाहले जानीजानी संसदको अपमान गरिरहेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको टिप्पणी गरे । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए ।
उनले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उल्लेख गर्दै यसले नागरिकमा निराशा बढाउन सक्ने र व्यवस्थाभित्रै विकल्प छैन भन्ने खतरनाक सोच विकसित हुनसक्ने धारणा राखे ।
महामन्त्री पौडेलले सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप पनि लगाए । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकाय प्रधानमन्त्री केन्द्रित बनाइएको उनको भनाइ थियो । संवैधानिक परिषद्लाई समेत ६ सदस्यीय समितिमा तीन जनाले बहुमत पुग्ने संरचनामा रूपान्तरण गरिएको भन्दै उहाँले यस्तो अभ्यास विश्वमै दुर्लभ भएको टिप्पणी गरे ।
उनले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गरिरहने बताए । सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप लागेर बस्न नमिल्ने उनको भनाइ थियो ।
उनले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान सरकारमा हाबी हुँदै गएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा रहेको बताए । लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उल्लेख गर्दै उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, विधि र संसदीय प्रणालीको रक्षाका लागि निरन्तर उभिने स्पष्ट पारे ।



















