काठमाडौँ । नेपाल–चीन सीमास्थित कोरला नाकाबाट भन्सार छलेर भित्र्याइँदै गरिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) मुस्ताङ भन्सार कार्यालयले बरामद गरेको छ।
लोमान्थाङ गाउँपालिका–१ छोसेर न्हेचुङ क्षेत्रमा शनिबार दुईवटा मालवाहक कन्टेनरबाट ५९२ कार्टुन ‘भेप’ बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।
ना.६ ख ४७४३ र ना.५ ख ७९२१ नम्बरका कन्टेनरहरू चिनियाँ भन्सारबाट दुई दिनअघि सामान लोड गरेर कोरला नाकामा रोकिएका थिए। शनिबार सार्वजनिक बिदाको दिन भन्सार कर्मचारी तिजी पर्व अवलोकनमा गएको मौका पारेर कन्टेनरहरू भन्सार छलेर लोमान्थाङतर्फ लैजान खोजिएको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ।
गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले कन्टेनर नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा ‘भेप’ फेला परेको हो।
भन्सार कार्यालयका अनुसार एउटा कार्टुनमा २२० वटा ‘भेप’ रहेका छन्। त्यसअनुसार दुई कन्टेनरमा करिब एक लाख २० हजारभन्दा बढी विद्युतीय चुरोट रहेको अनुमान गरिएको छ।
बरामद गरिएका ‘भेप’को परिमाण तथा अनुमानित मूल्य निर्धारणका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थितिमा मुचुल्का तयार गर्ने प्रक्रिया भइरहेको भन्सार कार्यालयले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा कन्टेनर चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
स्रोतका अनुसार अवैध रूपमा ‘भेप’ ओसारपसार गर्ने समूहले प्रहरी र सशस्त्र प्रहरीलाई झुक्याउन नक्कली कागजातसमेत तयार पारेको भेटिएको छ।
यसअघि पनि चालु आर्थिक वर्षको पुस ९ गते कोरला नाकाबाट रु २ करोड २४ लाख मूल्य बराबरका १६ हजार थान ‘भेप’ बरामद गरिएको थियो। गत वर्ष मात्रै सोही नाकाबाट रु ६ करोड ८१ लाख बराबरका विद्युतीय चुरोट बरामद भएका थिए।




















