सुर्खेत। नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै गलत कदमविरुद्ध सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका संयोजक दाहालले सरकारको नियत सही नदेखिएको टिप्पणी गरे । उनले संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी तथा कर्मचारी ट्रेड युनियन खारेजीको विषय, अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलगायतका कारण सरकारप्रति विभिन्न संशय र प्रश्न उठेको बताए।
“सरकारका पछिल्ला गतिविधिको समर्थन गर्न सकिने अवस्था छैन,” उनले भने, “बरु विरोध र प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट आवाज उठाउनुपर्ने धेरै विषय छन्। हामी सडक र सदनबाटै प्रतिवाद गर्छौं।”
दाहालले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा आवश्यक परिमार्जनका पक्षमा आफूहरू सदैव सकारात्मक रहेको उल्लेख गर्दै सरकारले राम्रो काम गरे रचनात्मक सहयोग गर्न तयार रहेको बताए। तर पछिल्लो समय सरकारका गतिविधिले समर्थन गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो।
उनले संसद्को नियमित प्रक्रिया छलेर अध्यादेशमार्फत निर्णय अघि बढाइनु “लाजमर्दो” विषय भएको टिप्पणी गरे। “आफ्नै दुईतिहाइ नजिकको बहुमत हुँदा पनि सदनलाई छलेर अध्यादेशको बाटो जानु उचित होइन,” उनले भने, “त्यसको पनि हामीले निरन्तर प्रतिवाद गरिरहेका छौँ।”
सुकुमवासीहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले त्यसले भविष्यमा गम्भीर सामाजिक समस्या निम्त्याउन सक्ने चेतावनी दिए।
संविधान संशोधनका लागि सरकारले तयार पारेको बहसपत्र पनि पारदर्शी ढङ्गले अगाडि नआएको भन्दै उनले त्यसलाई गम्भीर बहसको विषय बनिरहेको बताए।
फरक प्रसङ्गमा दाहालले वाम एकताका लागि विभिन्न तहमा छलफल चलिरहेको जानकारी दिए। नेपालमा कम्युनिस्ट शक्तिहरूको ठूलो जनमत रहेको उल्लेख गर्दै उनले वाम एकतामार्फत त्यसलाई पुनः एकीकृत गर्न सकिने धारणा राखे।
“जनताले देशको अवस्था हेरेर मत परिवर्तन गर्छन्,” उनले भने, “हिजो नेकपालाई गरे, आज रास्वपालाई गरे। यो स्वाभाविक प्रक्रिया हो। वाम एकताले वामपन्थी जनमतलाई फेरि एकत्रित गर्ने आधार तयार गर्न सक्छ।”




















