काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेद्वारा मदननगर वल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी र जीवराम आश्रितको योगदान, विचार र संघर्ष नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनका लागि सधैँ प्रेरणाको स्रोत रहने उल्लेख गरिन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै उनले राष्ट्र, जनता र परिवर्तनका पक्षमा मदन–आश्रितले देखाएको त्याग, निष्ठा र राजनीतिक दूरदृष्टि अहिले पनि उत्तिकै प्रासंगिक रहेको बताइन्।
उनले जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’का प्रणेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउन ऐतिहासिक भूमिका खेलेको बताइन्।
भण्डारीले जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यममार्फत सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गरिन्।
उनले वर्तमान राजनीतिक परिस्थितिमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै पार्टीभित्र सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताइन्। जनअपेक्षा र सुधारप्रतिको चाहनालाई सम्बोधन गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिइन्।
“सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ,” उनले भनिन्, “जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु आवश्यक छ।”
स्मृति सभाको अध्यक्षता एमाले उपाध्यक्ष रामबहादुर थापा वादलले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव शंकर पोखरेलले गरेका थिए ।





















