काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको वैचारिक योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि अझै मार्गदर्शक बनेर रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गरेका हुन्। उनले समय बित्दै जाँदा पनि त्यस घटनाको पीडा र अभाव झन् गहिरिँदै गएको उल्लेख गरेका छन्।
ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको स्मरण गर्दै उनलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने ‘जनताको बहुदलीय जनवाद’का अगुवा नेताका रूपमा चित्रित गरेका छन्। उनले जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन्।
उनले जनताको बहुदलीय जनवादले आन्दोलनलाई युगअनुकूल वैचारिक परिष्कार, बलियो आवाज र परिवर्तनको स्पष्ट मार्गचित्र दिएको उल्लेख गर्दै त्यसैको आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि बढाइएको बताएका छन्। ओलीका अनुसार पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा सकारात्मक परिवर्तन ल्याउन थालेको थियो।
अध्यक्ष ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रज योद्धाहरू शारीरिक रूपमा अहिले नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा “दीपस्तम्भझैँ” रहेको बताएका छन्। उनले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उल्लेख गरेका छन्।
मदन भण्डारीलाई सम्झँदा आफूले केवल नेता वा मित्र मात्र नभई “युगद्रष्टा सहयोद्धा” गुमाएको अनुभूति हुने ओलीको भनाइ छ। उनले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले जनताको पक्षमा दृढ भएर उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरणा दिइरहेको बताएका छन्।
स्मृति दिवसका अवसरमा ओलीले मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली तथा उच्च सम्मान व्यक्त गरेका छन्।



















