काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
काठमाडौं जिल्ला अदालत का न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार थुनुवा पूर्जी जारी गर्दै कारागार पठाउने आदेश दिएको हो ।
पाठकविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुण्डी, विद्युतीय कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ ।
अदालतमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
अनुसन्धानका क्रममा उनले इमेलमार्फत अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको खुलेको बताइएको छ ।
त्यसैगरी, “एक्ट्रिमिष्ट ग्रुप नेपाल” नामको अवैधानिक संगठन स्थापना गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी को निर्देशनमा राईलाई धम्की दिइएको अनुसन्धान निष्कर्षमा उल्लेख छ ।
बयानका क्रममा पाठकले फिलिपिन्समा हुण्डीमार्फत करिब दुई करोड रुपैयाँ प्राप्त गरेको स्वीकार गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
उनीमाथि अख्तियारका तत्कालीन सहप्रवक्ता गणेशबहादुर अधिकारी लाई समेत मोबाइल सन्देशमार्फत ज्यान मार्ने धम्की दिएको आरोप छ ।
अदालतले अभियोगपत्रमा समेटिएका तथ्य र प्रमाणका आधारमा उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साथै फरार अभियुक्तका हकमा म्याद जारी गर्न तथा अन्य सम्बन्धित व्यक्तिलाई बयानका लागि उपस्थित गराउन समेत आदेश दिइएको छ ।




















