काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण दिनुको सट्टा भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्ति अपनाएको टिप्पणी गरिन् ।
‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ,’ उनले भनिन्, ‘काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास फैलाउने काम भइरहेको छ । यसले नयाँ बाटो दिँदैन ।’
झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरूको निरन्तरता मात्रै भएको टिप्पणी समेत गरिन् ।
उनका अनुसार नीति तथा कार्यक्रममा नयाँ सोच र रूपान्तरणकारी योजना अभाव छ । जनताले दिएको ठूलो जनमतलाई सरकारले सही रूपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो ।
‘पुरानै कार्यक्रमहरू दोहोर्याएर लेखिएको छ,’ उनले भनिन्, ‘जनताले परिवर्तनको अपेक्षासहित अवसर दिएका थिए, तर त्यो अवसर फेरि परम्परागत शैलीमै सीमित भएको देखिन्छ ।’
सुशासन र सेवा प्रवाहका नाममा केवल नागरिकता, राहदानी वा जग्गाधनी पुर्जा वितरण मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले सबै वर्ग र समुदायको मानव अधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन् ।




















