काठमाडौँ । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै कार्कीले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।
हाल अर्थ मन्त्रालय मातहत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र त्यसअन्तर्गतका कूटनीतिक नियोगमार्फत सञ्चालन गर्नुपर्ने उनको धारणा थियो।
नेपाल अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको स्मरण गराउँदै उनले वैदेशिक सहायताको प्रभावकारी परिचालनबाट मात्रै गरिबी निवारण र विकासशील राष्ट्रमा स्तरोन्नतिको लक्ष्य हासिल गर्न सकिने बताए।
आर्थिक कूटनीतिलाई परिणाममुखी बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै कार्कीले विदेशस्थित नेपाली नियोग र त्यहाँ कार्यरत विशेषज्ञ जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
‘हाम्रा ३३ मुलुकमा रहेका ४४ वटा नियोग र त्यहाँ कार्यरत विशेषज्ञ जनशक्तिलाई आर्थिक कूटनीतिमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक छ,’ उनले भने, ‘वैदेशिक सहायता जुटाउने प्रमुख जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइनुपर्छ। अर्थ मन्त्रालयले प्राप्त सहायतालाई कुन क्षेत्र र विकास आयोजनामा खर्च गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ।’
सांसद कार्कीले नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा संशोधन प्रस्ताव गर्दै नेपाली डायस्पोरा तथा गैरआवासीय नेपालीहरूको लगानी आकर्षित गर्न ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विदेशमा रहेका नेपालीहरूको पुँजीलाई नेपालको विकासमा उपयोग गर्न दोहोरो कर प्रणाली हटाउनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो।
कूटनीतिक क्षेत्रको अनुभवसमेत सँगालेका कार्कीले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरकारलाई विशेष पहल गर्न सुझाव दिएका छन्।




















