काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नीति तथा कार्यक्रममा शासकीय स्वरुपबारे स्पष्ट दृष्टिकोण नआएको भन्दै प्रश्न उठाएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यो सरकारले स्वीकारेको हो कि होइन ?’ उनले प्रश्न गर्दै सरकारप्रति आफूहरूमा संशय रहेको बताए ।
महरले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका नदेखिएको उल्लेख गर्दै लोकतन्त्रप्रतिको उसको प्रतिबद्धतामाथि पनि प्रश्न उठाए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतन्त्रप्रतिको जिम्मेवारी र बफादारिता के हो ? यसप्रतिको दृष्टिकोण के हो ?’ उनले भने ।
संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भए पनि त्यसबारे सरकारको धारणा अस्पष्ट रहेको उनको भनाइ थियो ।
‘आफ्नो दृष्टिकोण सार्वजनिक नगरीकन संविधान संशोधनको बहसपत्र तयार पार्ने कुराले के संकेत गर्दैछ ?’ उनले प्रश्न गरे ।
महरले बहसपत्र संयोजकको विषयलाई लिएर पनि टिप्पणी गर्दै ‘हिजो कुनै बेला “राजा आऊ देश बचाऊ” भन्ने व्यक्तिलाई जिम्मेवारी दिइएको सुनिएको’ बताए ।
हजारौँ शहीदको बलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउँदै उनले यस विषयलाई सामान्य रूपमा नलिन सरकार र रास्वपालाई आग्रह गरे ।




















