काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सूर्यप्रसाद चापागाईँले भट्टले राजीनामा दिएको पुष्टि गरे । उनका अनुसार भट्टको राजीनामा बिहीबारदेखि लागू हुने गरी पेश गरिएको हो ।
सरकारले सार्वजनिक निकायमा नियुक्त व्यक्तिहरूलाई बर्खास्त गर्न ल्याएको अध्यादेशमा नेपाल आयल निगम समावेश नभए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले भट्टलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ । सोहीअनुसार उनले पद त्याग गरेका हुन् ।
डा. भट्टलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।




















