काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अराजक समूहहरूको अस्थायी गठजोडको संज्ञा दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता बादलले रास्वपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाए।
उनले रास्वपा कुनै स्पष्ट र सुसंगत विचारधारामा आधारित राजनीतिक दल नभई आकस्मिक रूपमा उदाएको महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठबन्धन भएको टिप्पणी गरे।
‘रास्वपा कुनै सुसज्जित विचारधारामा आधारित दल होइन । यो आकस्मिक र अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने।
उनले रास्वपाको राजनीतिक आधार लोकप्रियतावाद र अवसरवादमा टिकेको दाबी गर्दै यसलाई दीर्घकालीन रूपमा घातक प्रवृत्ति भएको बताए।
बादलले रास्वपालाई ‘ग्ल्यामर र स्टन्टको आकर्षक कला’ को रूपमा चित्रण गर्दै बाहिर आकर्षक देखिए पनि परिणाममा अस्थिर र हानिकारक हुने टिप्पणी गरे।




















