काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सरकारमा प्रधानमन्त्रीको उपस्थिति नै अस्पष्ट भएको टिप्पणी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सदनलाई सम्बोधन नगरेको, सांसदका प्रश्नको जवाफ नदिएको विषय उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
उनले प्रश्न गर्दै भने, “यो सरकारमा प्रधानमन्त्री छन् कि छैनन् ? छन् भने सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ?”
साम्पाङका अनुसार जनप्रतिनिधिको प्रश्नको उत्तर नदिनु जनताको आवाजलाई बेवास्ता गर्नु सरह हो। उनले प्रश्नको जवाफ दिन नसक्ने नेतृत्वलाई असक्षम ठहर गर्नुपर्ने बताए।
उनले सरकार जनताको सुरक्षा र सीमा संरक्षणमा समेत कमजोर देखिएको आरोप लगाए। सीमा क्षेत्रमा छिमेकी देशले गरिरहेको निर्माण कार्यबारे पनि सरकारसँग स्पष्ट जानकारी माग गर्दै उनले महाकाली क्षेत्रको उदाहरण प्रस्तुत गरे।
साम्पाङले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै वर्तमान प्रशासनको प्रभावकारिता र जवाफदेहितामाथि गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे।




















