काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेपकारी शैली अपनाएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकार संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद् छल्ने तथा प्रतिशोधपूर्ण धरपकडमा उत्रिएको टिप्पणी गरे।
ट्रेड युनियनमाथि हस्तक्षेप नगर्न आग्रह
प्रचण्डले ट्रेड युनियनलाई आधुनिक लोकतन्त्रको मूल आत्मा भएको उल्लेख गर्दै श्रमिक अधिकार कमजोर पार्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिए।
उनले लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा नजान आग्रह गर्दै लोकतान्त्रिक संस्थालाई नष्ट होइन, सुदृढ बनाउनुपर्ने बताए। साथै युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनका रूपमा थप व्यवस्थित बनाउने विषयमा बहस गर्न आग्रह गरे।
प्रेस स्वतन्त्रता संकुचन भएको आरोप
प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनबाट बनेको सरकारले नै प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास गर्नु विडम्बनापूर्ण भएको बताए।
उनले मिडिया संस्थालाई नियमन र कमजोर बनाउने अभ्यास भइरहेको आरोप लगाउँदै लोकतन्त्र प्रश्नबाट भागेर नभई प्रश्नको जवाफ दिएर बलियो हुने धारणा राखे।
संविधान संशोधनमा संयम अपनाउन आग्रह
संविधान संशोधनको विषय अत्यन्त संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै प्रचण्डले यसलाई हल्का रूपमा लिन नहुने बताए।
उनले संविधान संशोधन लोकतन्त्र सुदृढ गर्ने, सीमान्तकृत समुदायको प्रतिनिधित्व विस्तार गर्ने र समावेशी चरित्र बलियो बनाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
‘संविधान संशोधन गरौँ, तर त्यसले लोकतन्त्रलाई अझ सुदृढ गरोस्,’ उनले भने।
सरकारको स्वेच्छाचारितामाथि प्रश्न
प्रचण्डले सरकारमाथि संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छल्ने, अध्यादेशमार्फत शासन चलाउने र आलोचकलाई निशाना बनाउने काम गरेको आरोप लगाए।
उनले सम्पत्ति विवरणसम्बन्धी प्रश्नमा पारदर्शी जवाफ दिनुको साटो ढाकछोप गरिएको तथा पत्रकार र युट्युबरलाई आलोचनाकै आधारमा पक्राउ गरिएको दाबी गरे।
उनले विगतमा ‘सबै पुराना दल उस्तै’ भन्ने भाष्य बनाउनेहरू अहिले स्वयं स्वेच्छाचारी शैलीमा अघि बढेको टिप्पणीसमेत गरे।




















