काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई पनि पुराना राजनीतिक दलसँग जोडेर एउटै रूपमा चित्रण गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई सत्य नभएको दाबी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अघिल्लो संसद्मा भएको सहकार्यको स्मरण गर्दै प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहँदा रास्वपासँग प्रभावकारी सहकार्य गरेको बताए।
प्रचण्डले त्यस अवधिमा सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तथा ठूला माफियाविरुद्ध कारबाही गरिएको दाबी गरे।
उनले प्रतिपक्षमा सानो संख्या भए पनि दुईतिहाइ बहुमतको सरकारका बेथिति र विकृतिविरुद्ध संघर्ष गरेको उल्लेख गरे।
प्रचण्डले ‘पुराना र नयाँ’ भन्ने बहस दार्शनिक, राजनीतिक र समाजशास्त्रीय रूपमा गलत भएको तर्क गर्दै वास्तविक बहस सही र गलतबीच हुनुपर्ने बताए।
उनका अनुसार पुराना र नयाँको भाष्यले समाज, परिवार र राजनीतिमा विभाजन सिर्जना गर्ने खतरा हुन्छ भने सही र गलतको बहसले रूपान्तरण र नयाँ एकताको आधार तयार पार्छ।




















