काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग स्पष्ट जवाफ माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद वासना थापाले उक्त घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासमा विरलै देखिने दृश्यको रूपमा टिप्पणी गरिन्।
उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद्बाट बाहिरिनुलाई सामान्य घटना नभएको बताइन्।
‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु केवल सामान्य दृश्य होइन,’ उनले भनिन्।
सांसद थापाले संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरतासँग जोडिएको विषय भएकाले यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
उनले यस्ता घटनाको पुनरावृत्ति हुन नहुने उल्लेख गर्दै लोकतन्त्रमा पदभन्दा मर्यादा र मर्यादाभन्दा जनविश्वास ठूलो हुने कुरामा सरकार सचेत हुनुपर्ने बताइन्।




















