काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका प्रमुख आर्थिक संस्थाहरू केही सीमित व्यक्तिको नियन्त्रणमा पुगेको दाबी गर्दै अब त्यस अवस्थाको अन्त्य गरिने बताएका छन्।
मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विगत केही वर्षमा आर्थिक संस्थाहरू सीमित व्यक्तिको स्वार्थअनुकूल सञ्चालन भएको आरोप लगाए। उनले जनताको अर्बौँ रकम अपचलन गरेर बजारमा चलखेल, इन्साइडर ट्रेडिङ र राजनीतिक प्रभावमार्फत आर्थिक संस्थामाथि कब्जा जमाइएको टिप्पणी गरे।
उनले केही प्रभावशाली व्यक्तिले राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पारेर आर्थिक तथा राजनीतिक संरचनामाथि नियन्त्रण कायम गरेको दाबी गरे। वाग्लेले ‘जेनजी आन्दोलन’ नभएको भए मुलुक गम्भीर संकटतर्फ धकेलिने अवस्था आउने उल्लेख गर्दै अहिले देश नयाँ दिशातर्फ अघि बढिरहेको बताए।
सुशासनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले युवाहरूको हस्तक्षेपले मुलुकलाई ठूलो संकटबाट जोगाएको धारणा व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले अध्ययन समितिको प्रतिवेदनका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरिने जानकारी पनि दिए। उनका अनुसार सरकारले पुँजी बजार सुधारका लागि विभिन्न नीतिगत परिवर्तन अघि बढाइरहेको छ भने नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार दृष्टिकोण समेटिएको छ।
उनले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप प्रभावकारी बनाइने र इन्साइडर ट्रेडिङ तथा सीमित व्यक्तिको नियन्त्रण अन्त्य गरेर बजारलाई पारदर्शी र व्यवस्थित बनाइने बताए।




















