काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)को व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाविपरीत भएको बताएका छन्।
कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय र संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्दै आफ्नै नेतृत्वको सरकारको कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री अन्त्यसम्म उपस्थित नरहनुले गलत सन्देश गएको उल्लेख गरेको छ।
पार्टीले प्रधानमन्त्रीको पोशाकबारे संसद्भित्र उठेको टिप्पणीलाई पनि उल्लेख गरेको छ। राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको गरिमाप्रति सम्मान प्रकट गर्ने अभ्यास रहेको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा संसद् केवल सरकार निर्माणको गणितीय संस्था नभई लोकतान्त्रिक संस्कार, संस्थागत अनुशासन र राष्ट्रिय सभ्यता प्रस्तुत गर्ने सर्वोच्च मञ्च भएको उल्लेख गरिएको छ। त्यहाँ हुने व्यवहारले वर्तमान राजनीति मात्र होइन, भावी पुस्ताको लोकतान्त्रिक संस्कृतिमाथि समेत प्रभाव पार्ने कांग्रेसको धारणा छ।
कांग्रेसले संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिले उक्त व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न नसकिने भन्दै यस्ता अमर्यादित र अशोभनीय गतिविधिप्रति असहमति जनाएको छ।



















