काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गरेका छन् ।
नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको अपेक्षा गरिए पनि यो केवल विगतकै निरन्तरता मात्र भएको उनले बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक दुलालले सरकारको नीति तथा कार्यक्रमलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को संज्ञा दिए । उनले २०७४/७५ देखि नै प्रदेश र संघको नीति कार्यक्रम उस्तै शैलीमा आइरहेको उल्लेख गर्दै यसपटक पनि कुनै नयाँ ऊर्जा वा सोच नदेखिएको बताए ।
सम्बोधनका क्रममा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह बीचमै संसद हलबाट बाहिरिएको विषयलाई दुलालले ‘अशोभनीय हर्कत’ र ‘राष्ट्रिय लज्जा’ को विषय बताए ।
सुशासन, विधिको शासन र रोजगारी सिर्जनाका सवालमा सरकार चुकेको उनको तर्क छ । निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले युवाहरूलाई स्वदेशमै रोक्ने र बन्द उद्योग सञ्चालन गर्ने आश्वासन दिए पनि नीति तथा कार्यक्रममा ती विषयले ठोस प्राथमिकता नपाएको उनले बताए । वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई फर्काउने र स्वदेशमै अवसर दिने खालका नविनतम कार्यक्रम आउने अपेक्षा पूरा नभएको उनले औँल्याए ।
परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य रहने उनको विश्लेषण छ । यद्यपि, नयाँ सरकारले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गर्नुपर्नेमा सरकार चुकेको उनको निष्कर्ष छ ।



















