काठमाडौं । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन् ।
नीति तथा कार्यक्रममा राजनीतिक दलहरूसँगको सहकार्यका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने उल्लेख गरिएको छ ।
यसअघि सरकारले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिसकेको छ । उक्त कार्यदलले आफ्नो काम अगाडि बढाइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा पनि संविधान संशोधनको विषयलाई प्राथमिकतासाथ समेटेको हो ।



















