काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले राष्ट्रियता र सीमा सुरक्षाको विषयमा सरकार मौन बसेको टिप्पणी गरे ।
‘किन कूटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिनाको कूटनीतिक नोटका भरमा मात्र किन लुकेर बसेको छ यो सरकार ?’ उनले संसद्मा प्रश्न गरे ।
साम्पाङले नेपाली सेनाको परिचालनबारे पनि सरकारको आलोचना गरे । सीमा सुरक्षामा केन्द्रित हुनुपर्ने सेनालाई सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएको भन्दै उनले आपत्ति जनाए ।
सरकारले संविधानले प्रत्याभूत गरेको आवास र सम्मानजनक जीवन बाँच्न पाउने मौलिक हकमाथि हस्तक्षेप गरेको उनको आरोप थियो ।
‘गरिबका भत्किएका बस्ती र बिजोग बनाइएका होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभएको छ कि आफ्नै कार्यालयमा लुकेर बस्नुभएको छ ?’ उनले प्रश्न गरे ।
साम्पाङले संविधान उल्लंघन गर्ने सरकारको औचित्य समाप्त भइसकेको दाबी गर्दै देश अभिभावकविहीन बनेको अनुभूति भइरहेको बताए ।




















