काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको बैठकमा सरकारका पछिल्ला गतिविधिविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकमा सरकारका निर्णय र समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रमुख सचेतक युवाराज दुलालले जानकारी दिए ।
बैठकपछि उनले संसद्मा सुकुम्वासी समस्याको तत्काल र प्रभावकारी समाधानको माग उठाइने बताए । साथै संसद् छलेर ल्याइएका अध्यादेश, प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा रहेका विवादास्पद प्रावधान तथा प्रधानन्यायाधीश नियुक्तिको विषयमा पनि पार्टीले धारणा राख्ने उनले बताए ।
दुलालका अनुसार प्रतिनिधि सभा नियमावलीका केही प्रावधानमाथि पार्टीले संशोधन प्रस्ताव समेत दर्ता गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर विपक्षी दलहरू सरकारविरुद्ध एकजुट देखिएका छन् ।




















