काठमाडौं । प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
सुकुमवासी बस्ती खाली गराउने निर्णय, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएपछि कांग्रेसका सांसदहरूले बैठकमा सहभागिता जनाएनन् ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म समितिको बैठकको औचित्य नरहेको बताए । उनले गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्याए ।
‘प्रधानमन्त्री आउनुहुन्छ भने हामी पनि बैठकमा सहभागी हुन्छौं । अन्यथा औपचारिक उपस्थितिका लागि मात्र बैठकमा बस्ने अवस्था छैन,’ आङ्देम्बेले बताएका छन् ।
उनले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको पनि जानकारी दिए ।
प्रधानमन्त्री शाह उपस्थित नभएका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दोस्रोपटक प्रभावित भएको हो ।




















