जनकपुरधाम । सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।
आइतबार सत्तारुढ चार दलले यही सरकारलाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने निर्णय गरेका हुन् ।
उनीहरूले साझा विज्ञप्तिमार्फत् यथाशीघ्र चाँडो मुख्यमन्त्री यादवले विश्वासको मत लिने पनि निर्णय गरेको जनाएका छन् ।
कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।




















