काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितर्फ उन्मुख हुँदै गएको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गर्दै उहाँले पुराना तथा नयाँ दुवै दलभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको आरोप लगाए ।
किराँतीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको दाबी गर्दै राजनीतिक दलहरू क्रमशः “धार्मिक संस्था जस्तो” बन्दै गएको र नेताहरूको “देवत्वकरण” बढिरहेकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार राजनीतिक नेतृत्व विचौलियाको प्रभावमा फस्दै गएको छ ।
उनले आफूले नेकपा (माओवादी केन्द्र) छोड्नुको कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्व शैली रहेको उल्लेख गर्दै पार्टीभित्र आफ्ना विचार राख्न समेत अवसर नपाएको बताए ।
किराँतीले अबको राजनीति “प्रकृति, संस्कृति र प्रविधि” को समायोजनमा आधारित हुनुपर्ने बताउँदै श्रम संस्कृति पार्टीले सोही विचारधारालाई अघि बढाउने स्पष्ट पारे । साथै, पुँजी विकास बिना देश समृद्ध नहुने उल्लेख गर्दै नयाँ राजनीतिक यात्रालाई वैकल्पिक अभियानका रूपमा अघि बढाइने संकेत गरे ।




















