जनकपुरधाम । स्थानीय तहले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि धनुषाका सुकुमबासी आन्दोलनमा उत्रिएका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा शुक्रबार सुकुमबासीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण जनकपुर–ढल्केवर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रदर्शनकारीहरूले महेन्द्रनगर पुल क्षेत्रमा टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले वैकल्पिक व्यवस्था नगरी सुकुमबासीलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्।
क्षिरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा सात दिनभित्र खाली गर्न निर्देशन दिएको थियो।
नगरपालिकाले नेपाल सरकार गृह मन्त्रालयको वैशाख १६ गतेको पत्रअनुसार तोकिएको अवधिमा संरचना नहटाए सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनीसमेत दिएको छ।
सुकुमबासीको प्रदर्शनका कारण शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादव ले जानकारी दिए।
प्रदर्शनकारीहरूले शुक्रबारको आन्दोलन सांकेतिक मात्र भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।




















